अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

कोप-२८: गुटेरेसले दुबईबाट सम्झिए नेपाल

बिआरटीनेपाल २०८० मंसिर १६ गते ५:४९ मा प्रकाशित

दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) को उच्चस्तरीय राजनीतिक भेलामा राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले नेपालको नाम उल्लेख गरेपछि सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालले खुसी व्यक्त गर्नुभएको छ । सम्मेलनअन्तर्गत शुक्रबार सुरु भएको दुईदिने वल्र्ड क्लाइमेट एक्सन समिटको उद्घाटन सत्रमा महासचिव गुटेरेसले भन्नुभयो, ‘केही दिनअघि मात्र म अन्टार्टिकाको पग्लिरहेको हिउँमाथि थिएँ। धेरै अघि होइन, मैले नेपालका पग्लिरहेका हिमनदीलाई पनि साक्षात्कार गरेको थिएँ। यी दुई स्थान भूगोलका हिसाबले टाढा छन् तर समान संकटमा छन्।’

उद्घाटन सत्रमा महासचिव गुटेरेसले बोलिरहँदा सभास्थलमा अगाडि रहेका प्रधानमन्त्री प्रचण्डले त्यसलगत्तै नेपाल पेभिलियनमा आफ्नो संक्षिप्त प्रतिक्रिया राख्ने क्रममा महासचिवको अभिव्यक्तिप्रति खुसी व्यक्त गर्नुभएको हो । ‘उद्घाटन मन्तव्यमा महासचिव गुटेरेसले नेपाल र अन्टार्कटिकाको चर्चा गरेका छन्, यो खुसीको कुरा हो,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो  ।यसैबीच प्रधानमन्त्री प्रचण्डलले सम्मेलनका क्रममा हुने द्विपक्षीय र बहुपक्षीय वार्ता तथा साइडलाइन बैठकमा गम्भीरताका साथ प्रस्तुत हुन नेपाली टोलीलाई निर्देशन दिनुभयो। ‘हाम्रा समस्या र चुनौतीलाई राम्रोसँग राख्नुस्। हामीले यो सम्मेलनलाई अवसरको रूपमा लिनुपर्छ। जलवायु न्यायलाई अधिकारको विषय बनाउनु पर्छ,’ निर्देशन दिँदै प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सम्मेलनमा नेपालको चिन्ता र चासोलाई प्रस्ट रूपमा राख्ने बताउनुभयो । प्रधानमन्त्रीले उच्चस्तरीय सम्मेलनलाई शनिबार अपराह्न सम्बोधन गर्नुभएको छ । नेपाल पेभिलियनमा बोल्ने क्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु संकटलाई सम्बोधन गर्न नेपाली युवाले पहलकदमी लिनुपर्ने बताउनुभयो। ‘हाम्रा युवा पनि कम छैनन्। युवालगायत सबै सरोकारवालाले जलवायु न्यायको माग सशक्त रूपमा राख्न आवश्यक छ,’ उहाँले भन्नुभयो । वर्ल्ड क्लाइमेट एक्सन समिटलाई शुक्रबार सम्बोधन गर्ने क्रममा विश्वका विभिन्न देशका नेताले बढ्दो जलवायु संकटलाई सम्बोधन गर्न सहकार्यको आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू