अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

चार महिनामा थपियो साढे ५७ अर्ब रुपैयाँ सार्वजनिक ऋण

बिआरटीनेपाल २०८० मंसिर १६ गते ५:२० मा प्रकाशित

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोड रुपैयाँ भन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएकाे असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब छ करोड रुपैयाँ नाघेको हो ।कार्यालयको गएको कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार अहिलेसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख रुपैयाँ र बाह्य ऋण ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा १६ अर्ब १८ करोड ६१ लाख रुपैयाँ बराबर भुक्तानी गरेको देखिएको छ । यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा ९७ अर्ब ३१ करोड रुपैयाँ बराबर आन्तरिक ऋण र १५ अर्ब ८५ करोड ३० लाख रुपैयाँ बाह्य ऋण गरी कुल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख बराबर ऋण उठाइएको छ ।

चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ । गएको कात्तिक मसान्तसम्ममा सरकारले २९ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ बराबर पुँजीगत खर्च गरेको छ । यही अवधिमा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भने ८१ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ बराबर खर्च गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू