अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१९ | Colorodo: 23:34

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक आदेशविरुद्धको निवेदनमा सुनुवाइ जारी, अब तीन जनाको प्रतिरक्षा बहस बाँकी

बिआरटीनेपाल २०८० मंसिर १२ गते ६:१० मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा मंगलबार एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका कानून व्यवसायीको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतले सुनाएको आदेशविरुद्ध गत मंगलबारदेखि उच्च अदालत पाटनमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा जारी सुनुवाइमा निवेदकतर्फका कानून व्यवसायीले बहस गरिरहेका छन् । हिजो पूर्वगृहमन्त्री बालकृष्ण खाँणका कानून व्यवसायीले बहस सकेपछि मंगलबार पूर्वउपप्रधानमन्त्री रायमाझीका कानून व्यवसायीले बहस गरेका हुन् ।

रायमाझीका तर्फको बहस सकिएसँगै अब ३ जना प्रतिवादीहरुको तर्फबाट मात्रै बहस हुन बाँकी छ । अब रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस हुने छ । उनीहरुका प्रतिरक्षा बहस सकिएपछि सरकारी वकिल पक्षले बहस गर्ने छन् । सरकारी पक्षको बहस सकिएपछि निवेदक (प्रतिवादी)का कानून व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहसपछि पुनरावेदन निवेदनको फैसला आउने छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले गत असार १ गते थुनछेक आदेश सुनाउँदै रायमाझीसहित १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । प्रतिवादीमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी अभियोग छ । ठगी प्रकरणका अभियुक्त सबैले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा गत साउन १२ गते पुनरावेदन निवेदन दिएका थिए ।

राज्य संयन्त्रको साख र शक्ति उपयोग गर्दै सर्वसाधारणलाई नक्कली भुटानी शरणार्थी बनाउने तथा त्यही आधारमा अमेरिका पठाइदिने भनेर गृह मन्त्रालय मातहतबाट अघि बढेको यो गिरोहमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलगायत दोषी ठहर भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू