अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

‘सामाजिक सुरक्षा कोषमा संकलन ४५ अर्ब रकम उत्पादन र पूर्वाधार परियोजनामा लगानी गर्नुपर्छ’

बिआरटीनेपाल २०८० मंसिर ११ गते ५:३६ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र पूर्वाधार परियोजना लगानी गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । सोमबार छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै निजी क्षेत्रले सरकारसँग यस्तो माग गरेको हो ।निजी क्षेत्रले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको मन्दीलाई चलायमान बनाउन उक्त लगानी महत्वपूर्ण बन्ने उल्लेख गरे । निजी क्षेत्रका तीन छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले वर्तमान अर्थतन्त्रमा आएको समस्या समाधानको लागि सामाजिक सुरक्षा कोषमा जम्मा भएको ४५ अर्ब भन्दा बढी रकम उत्पादन, रोजगारी र पूर्वाधार परियोजनाहरुमा लगानी गर्न आवश्यक रहेको बताए ।

तीन अध्यक्षले सरकारले सामाजिक सुरक्षा कोष जस्ता रकम संकलन हुने कोषहरुको सम्पूर्ण रकम उत्पादनमुलक क्षेत्रमा लगानी भए अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने उल्लेख गरे । उनीहरुले सरकारले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र पूर्वाधार परियोजनामा लगानी लगाउन पाउने गरी कार्यविधि परिमार्जन गर्न समेत माग गरेका छन् । उनीहरुले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई बैंकमा राखेर ब्याज खाने भन्दा पनि उत्पादनशिल क्षेत्रमा लगानी गरी अर्थतन्त्रलाई गति दिन सक्नुपर्ने बताए ।कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई उत्पादनमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले छोटो समयमा सामाजिक सुरक्षा कोषमा ४५ अर्ब फण्ड संकलन भएको भन्दै यसलाई उत्पादनमा लगानी गर्नसके मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

अध्यक्ष ढकालले कोषमा जम्मा भएको रकम उत्पादनशिल क्षेत्र र पूर्वाधारमा लगानी गर्ने कार्यविधि भनएको भन्दै बैंकमा राखेर ब्याज खानुभन्दा उत्पादनमुलक, रोजगारी पूर्वाधारमा क्षेत्रमा लगानी गर्नेगरी कार्यविधि परिमार्जन गर्न सुझाव दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्यलाई नियमित गराउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।कार्यक्रमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको भनाई पनि उस्तै रहेको छ । अध्यक्ष अग्रवालले पनि सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई उत्पादनशिल क्षेत्र तथा पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोषमा जम्मा भएको रकम उत्पादनशिल क्षेत्र तथा पूर्वाधारमा लगानी लगाउन सकेसमग्र अर्थतन्त्रमा योगदान पुग्ने विश्वास रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष अग्रवालले मुलुकको समग्र आर्थिक विकासको लागि बलियो र स्थायी श्रम सम्बन्ध आवश्यक रहेको बताउनुभयो । उहाँले विगत केही वर्षदेखि श्रमिक र रोजगारदाता बीचको सम्बन्ध सुधार हुँदै गएको दाबी गर्नुभयो । उहाँले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा शुरुवातमा अस्पष्ट हुँदा केही समय अन्योलको सिर्जना पनि अहिले बिस्तारै सुधार हुँदै गएको बताउनुभयो ।अध्यक्ष अग्रवालले सामाजिक सुरक्षा कोष कार्यान्वयमा आएपछि कर्मचारी सञ्चय कोष मर्ज गर्ने कुरा भएपनि दुईवटां संस्था सञ्चालनमा भएकाले केही अन्योल भइरहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषमा निजामति कर्मचारी र नेपाल सेना प्रहरीलाई पनि आवद्ध गराउन माग गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि सरकारले कोषमा संकलन भएको रकम बैंकमा ब्याज कमाउने भन्दा मुलुकको अर्थतन्त्रको सूचक नकारात्मक भएको अवस्थामा देशमा भएको प्राकृतिक स्रोत साधनलाई प्रवद्र्धन गर्ने उद्योगमा जलविद्युत परियोजनामा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र ठूला पूर्वाधार परियोजनमा लगानी लगायन सके देशलाई नै फाइदा हुने उल्लेख गर्नुभयो ।अध्यक्ष मल्लले अर्थतन्त्रको सूचकहरु नकारात्मक भइरहेको अवस्थामा पुँजीलाई चलायमान बनाउने काम सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार २०६६ सालमा सामाजिक सुरक्षाका लागि भने सुरु गरेको तलवको १ प्रतिशत कोषमा काटेर दिएको रकम अर्थमन्त्रालयमा पैसा त्यतिकै राख्नु भन्दा सामाजिक सुरक्षा कोष फिर्ता पठाउन माग गर्नुभयो । उहाँले सरकारले रोजगारदाता र श्रमिक दुबैलाई प्रोत्साहन हुने काम गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

ट्रेड युनियनहरूको छाता संगठन संयुक्त ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले सरकारले कोषमा आवद्ध भएका ९ लाखलाई निरन्तरता दिनु सक्नुपर्ने चुनौति रहेको बताउनुभयो । उहाँले चैत महिनादेखि वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने अनिवार्य गरिको जस्तै स्वदेशमा काम गर्ने श्रमिकलाई अनिवार्य गर्न सरकारलाई के ले रोक्यो ? भन्दै प्रश्न गर्नुभयो । अध्यक्ष श्रेष्ठले नेपाली श्रमिकहरुलाई व्यवहारमा उतार्ने खालका कानूनहरु आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारमा बस्ने जिम्मेवार व्यक्तिहरुले दिवसहरुमा राम्रो भाषण मात्रै गर्ने हो भने जनताले अर्को विकल्प खोजेजस्तै मजदुरहरुले पनि अर्को विकल्प खोज्न बाध्य नबनाउन सरकारलाई चेतावनी दिनुभयो ।

पछिल्लो पाँच वर्षमा योगदानकर्ताबाट सामाजिक सुरक्षा कोषमा ४४ अर्ब ८५ करोड जम्मा भएको छ । यसबाट योगदानकर्तालाई तोकिएको जोखिम सम्बोधन गर्दा ६ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी भइसकेको कोषले बताएको छ । जसमा सबैभन्दा बढी औषधोपचारमा मात्रै ७६ करोड १२ लाख रुपैयाँ, दुर्घटनामा ८ करोड ७५ लाख रुपैयाँ र अवकाश हुनेहरूमा ५ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको कोषले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू