अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन सक्दैन – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० मंसिर ११ गते ५:३३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित छैटौं सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाको विरुद्ध केही कतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सृजना गर्ने, अराजकता सृष्टि गर्ने कोशिस भएको उल्लेख गर्दै त्यस्ता प्रयास अगाडि बढ्नै नसक्ने बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले इतिहास जहिले पनि अग्रगमनतिरै अगाडी बढ्ने दाबी गर्दै पछाडि फर्कनै नसक्ने बताउनुभयो । उहाँले यो परिवर्तनको बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेल अग्रगमनको चक्कालाई कसैले पनि पछाडि फर्काउन नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन र सफलतालाई सरकारले आफ्नो सफलताको रुपमा लिएको पनि बताउनुभयो । उहाँले राष्ट्र निर्माणको लागि दूरगामी र रचनात्मक प्रभाव पार्ने तथा भावी पुस्ताका लागि गर्विलो इतिहासको रुपमा सामाजिक सुरक्षा कोषलाई सरकारले लिएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा लाग्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीले सामजिक सुरक्षा कोष कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गराउने काममा सक्दो योगदान पुर्याउन स्थानीय तहलाई पनि विशेष आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारले सामाजिक सुरक्षा कोषलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुरुप अघि बढाउने कुरामा सरकारले कुनै कमी हुन नदिने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू