अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामा तेगुलाई, नेपालका प्रचित तेस्रो

बिआरटीनेपाल २०८० मंसिर १० गते ५:४० मा प्रकाशित

पोखरामा ११ देशका खेलाडीको सहभागितामा भएकाे अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले जितेका छन् । उनले ५ स्टेज (ट्रयाक) को ११ किलाेमिटर ९२० मिटर दूरी ९ मिनेट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे ।विभिन्न ७ विधामध्ये इलिट पुरुषतर्फको याे विधामा उपाधि हात पार्दै रामाले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

त्यसैगरी त्यही विधामा बेलायतका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थान पाउन सफल भए । किलिङले त्यही दूरी १० मिनेट १६ सेकेण्ड ९७ मिलिसेकेण्डमा पार गरे भने प्रचितले १० मिनेट ३६ सेकेण्ड १३ मिलिसेकेण्डमा पार गरे । यससँगै किलिङले नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे भने प्रचितले नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे।

त्यस्तै, महिलातर्फ भने नेपालकी लक्ष्मी मगरले प्रथम, नेपालकै मिङ्गमा याङ्जी सेर्पाले दोस्रो र सिङ्गापुरकी इभोना सियाले तेस्रो स्थान हासिल गर्न सफल भए । उनीहरुले १० किमी ५०० मिटरको दूरी क्रमशः ९ मिनेट ५३ सेकेण्ड ४८ मिलिसेकेण्ड, ११ मिनेट २५ सेकेण्ड ३१ मिलिसेकेण्ड र १५ मिनेट ३५ सेकेण्ड ३६ मिलिसेकेण्डमा पार गरे । योसँगै उनीहरुले क्रमशः नगद ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँसहित प्रमाणपत्र, मेडर र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

१८ वर्षसम्मका पुरुष जुनियरतर्फ नेपालका विपुल थापा प्रथम हुन सफल भए । उनलाई पछ्याउँदै अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।त्यस्तै ३० देखि ३९ वर्ष समूहका लागि मास्टर्स ‘क’ विधामा राजन भण्डारी प्रथम, मङ्गल लामा दोस्रो र कुङ्गा वोसेर तेस्रो हुन सफल रहे । तीनै जना नेपालका खेलाडीले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।

४० देखि ४९ वर्षसम्मका लागि मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले प्रथम, रवि कार्कीले दोस्रो र नारायण मानन्धरले तेस्रो स्थान बनाउन सफल भए । उनीहरु सबै नेपाली हुन् । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । त्यस्तै, ५० वर्षभन्दा माथीका समूहका लागि भेट्रान विधातर्फ लाल आले, सुलोचन राजभण्डारी र सैशव प्रधान क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । नेपालका उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । नेपालमै पहिलो पटक आयोजना भएको ‘ई–बाइक’ विधामा प्रशन्न गौतम प्रथम हुन सफल भएभने विश्वास मोदी दोस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू