अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

कोशीमा माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय, राप्रपालाई सभामुख दिने तयारी

बिआरटीनेपाल २०८० असोज २५ गते ६:४४ मा प्रकाशित

सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र) का इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको गठबन्धनको बैठकले कोशीमा सरकार गठनका लागि अन्तिम विकल्पका रूपमा माओवादीका प्रदेश संसदीय दलका नेतासमेत रहेका आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो । यसअघि माओवादीलाई मुख्यमन्त्री दिन नसकिने अडान लिएको नेपाली कांग्रेस अब कुनै हालतमा आफ्नो पक्षमा बहुमत नजुटेपछि पछि हट्न बाध्य भएको छ ।यो निर्णयसंगै आङवोले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ ।कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता पार्टीका १ गरी ४७ सांसदको हस्ताक्षरसहित आङ्बोले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गर्नुभएको हो ।

यसअघि कांग्रेसका उद्धव थापा दुई पटकसम्म मुख्यमन्त्री बने पनि विश्वासको मत जुटाउन असफल हुनुभएको थियो । अब फेरि कांग्रेसकै मुख्यमन्त्री बन्दा विश्वासको मत पाउने आधार नदेखिएपछि गठबन्धनले माओवादीलाई दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।माओवादीले आफूहरूले बहुमत जुटाउने दाबी गर्दै आएको छ । यसका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटिसक्नुभएको छ । गठबन्धनलाई सरकार गठनमा सघाएमा कोशी प्रदेशको सभामुख राप्रपालाई दिन पनि दलहरू सहमत भएका छन् ।

नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले भोलि शुक्रवार साँझसम्म मुख्यमन्त्रीको नाम सिफारिस गर्न समय दिनुभएको छ । प्रदेशसभामा सरकार गठनको यो अन्तिम संवैधानिक विकल्प हो । यो व्यवस्थाअनुसार र प्रदेशसभामा बहुमत जुटाउन सक्ने सांसदले बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री दाबी गर्न सक्नेछन् । यस पटक पनि बहुमत नजुटेमा प्रदेशसभा नै विघटन हुन्छ । बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

कोशीमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसद छन् । एमालेका ४० जना सांसद छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू