अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 15:12

सरकारलाई प्रभावकारी बनाउनेबारे प्रधानमन्त्री प्रचण्ड र समाजवादीका अध्यक्ष नेपालबीच छलफल

बिआरटीनेपाल २०८० असोज २० गते ५:४६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेट भएको छ । समाजवादी मोर्चाका कामकारबाही, संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र संसद्को अधिवेशन लगायतका विषयमा प्रधानमन्त्री दाहाल र नेपालबीच छलफल भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शनिबार भएको भेटमा मुलुकको अर्थतन्त्रबारे पनि छलफल भएको बताइएको छ । अध्यक्ष नेपालले अर्थतन्त्रको विषयमा छलफल गर्नका लागि सत्तारुढ गठबन्धनभित्र पनि र बाहिर रहेका राजनीतिक दलहरूबीच छलफल गर्ने विषयमा कुराकानी भएको बताउनुभयो ।

”संयुक्त राष्ट्रसंघका महासचिव नेपालमा आउँदै हुनुहुन्छ । उहाँको भेटघाटको सन्दर्भमा, संसद्मा उहाँको सम्बोधन गर्ने कुराको सन्दर्भमा पनि कुरा भयो । सदन सञ्चालन कहिलेसम्म हुने भन्ने बारेमा पनि कुरा भयो,’ नेपालले प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्ताबारे भन्नुभयो, ुसरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भयो । अर्थतन्त्र कसरी सफल बनाउने भन्ने बारेमा छलफल भएको छ । उहाँले पनि योजना बनाउनुभएको रहेछ, हामीले पनि कसरी राम्रो बनाउने भनेर छुट्टै बैठक बस्ने सल्लाह दिएका छौँ । गबठन्धन दलका नेताहरू मात्रै बसेर सिंगो देशको मुक्ति, सञ्चालनकै सन्दर्भमा के समस्या रहेका छन्, हाम्रा अलग(अलग धारणा छन् कि छैनन्, कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भयो ”। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालमा भ्रमणमा आउन लाग्नुभएको छ । उहाँले संघीय संसद्लाई सम्बोधन गर्ने विषयमा प्रधानमन्त्रीले नेपालसँग छलफल गर्नुभएको हो ।

प्रचण्ड र नेपालबीचको भेटमा माओवादी केन्द्र र एकीकृत समाजवादीको विषयमा पनि छलफल भएको बताइएको छ । नेपालले दुई पार्टी बीचको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । ‘समाजवादी मोर्चा नेपालको एउटा कार्यक्रम गर्न बाँकी छ, सुदूरपश्चिम प्रदेशको धनगढीमा । त्यो सल्लाह गरेर टुंगो लाग्छ । त्यस बाहेक दुई पार्टी बीचको सम्बन्धलाई कसरी घनिभूत र बलियो बनाउने भन्ने बारेमा प्रदेश र जिल्लामा संयन्त्र बनाई कतिपय ठाउँमा देखिएका समस्या र गुनासाको सम्बोधनका बारेमा कुराकानी भयो’, अध्यक्ष नेपालले भन्नुभयो ।प्रधानमन्त्रीसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारका विभिन्न निकाय हुने नियुक्तिबारे पनि विषय राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू