अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

द्रव्य शाहको तरिकाका षडयन्त्रहरु सफल हुँदैनन् – एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०८० असोज १९ गते ५:५८ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा एमालेको प्रतिस्पर्धी नै नभएको बताउनुभएको छ । काठमाडौँमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षीहरुले एमालेमाथि षड्यन्त्र गरिरहेपनि ती षडयन्त्रलाई असफल पार्ने दाबी गर्नुभयो । ‘आजका हाम्रा विपक्षीहरुले बुझ्नुपर्दछ । द्रव्य शाहको तरिकाका षडयन्त्रहरु आज सफल हुँदैनन्’, ओलीले भन्नुभयो, ‘आज प्रतिस्पर्धाबाटै श्रेष्ठता कायम गर्नुपर्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले एमाले कार्यकर्ताहरुलाई पनि प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्न हाम्रा साथीहरु पनि तयार हुनुपर्छ । त्यसका लागि कार्यक्षमताको अभिवृद्धि र सक्रियता बढाउनुस् ।’

अध्यक्ष ओलीले एमाले अधिवेशनलाई लिएर विरोधीहरूले एकोहोरो टिप्पणी गरिरहेको भन्दै असन्तुष्टि जनाउनुभयो । ओलीले भन्नुभयो, ‘हाम्रा विपक्षीहरुले अधिवेशनका सन्दर्भमा एकोहोरो खालको टिकाटिप्पणी गर्न पाएका छन् । यो अधिवेशनले अर्को टिकाटिप्पणी गर्ने मौका नदिओस् ’उहाँले भन्नुभयो, ‘अहिलेसम्म लडेंभिडेँ भन्ने सन्देश प्रवाहित गरेको छ । यस अधिवेशनले सर्वसम्मति गरेर डेमोक्रेसी नै भएन भन्ने मौका पनि दिऔँ ।’ उहाँले चुनावमा सबैले नजित्ने भन्दै पार्टीमा सहमति गर्दा उपयुक्त हुने बताउनुभयो ।

‘सबैले जित्ने होइन । नजित्नेको मन दुख्छ । त्यसैले सहमतिमा नै गयो भने कसैको मन दुख्दैन । किन मन दुखाउने ?’ ओलीले भन्नुभयो, ‘उठेपछि जित्नका लागि कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको देखिन्छ । त्यस्तो नगरौँ ।’ ओलीले नेतृत्वले कार्यकर्ताको कामको मुल्यांकन गरिरहेको भन्दै नेतृत्वको मुल्यांकनमा भर नपर्दा नतिजा जस्तो सकै आउन सक्ने बताउनुभयो ।

‘नेतृत्वको मुल्यांकनमा भर परिएन र नचिनेकाले भोट दिने अवस्थामाथि भर परियो भने परिणाम जस्तो पनि हुन सक्छ । एउटा प्रदेशको एउटा कुनाको मान्छेले अर्को ठाउँकालाई चिनेको हुँदैन’, सहमतिलाई जोड दिँदै ओलीले भन्नुभयो, ‘कतिपय ठाउँमा हेरिरहेको छु म । चुनाव आफ्ना खुसीले लड्छन् । जितेकामा उन्माद चढेजस्तो देखिने । हारेकामा निराश, खिन्नजस्तो देखिने । त्यस हिसाबले पार्टीको आन्तरिक चुनावलाई लिनुहुन्छ र रु’ ओलीले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू