उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताउनुभएको छ । हेटौंडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव सोमबार उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने अभियान सुरु गर्ने विश्वास दिलाउनुभयो ।देशलाई भ्रष्टाचारले खोक्रो बनाएका कारण पनि समृद्धिका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यस अभियानमा साथ र सहयोग गरिदिन आग्रहसमेत गर्नुभयो । उहाँले राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको बताउनुभयो ।
राष्ट्रका लागि गरेको योगदानका आधारमा दिने पदक निश्चित व्यक्तिको चलखेलमा सिफारिस हुने गरेको अवस्थालाई तोडेर पदकको मूल्यांकन उच्च राख्नका लागि तत्काल रोक्ने निर्णय गरिएकोे गृहमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । गृहमन्त्री श्रेष्ठका अनुसार पदक लिनेले किनेको जस्तो र सिफारिस गर्नेले बेचेको जस्तो अवस्था देखिएकाले पदकको गरिमा नै आँच आउने देखिएकाले यस्तो निर्णय गरिएको हो ।