अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

संविधानको व्यवस्था अनुरुप नै जिल्ला न्यायाधीश नियुक्त भएका हुन : कानूनमन्त्री गुरुङ

बिआरटीनेपाल २०८० असोज १५ गते ६:०६ मा प्रकाशित

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्था अनुरुप नै जिल्ला न्यायाधीशहरु नियुक्त गरिएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले जिल्ला न्यायाधीशहरुको नियुक्ति संविधानको व्यवस्था अनुरुप गरेको बताउनुभएको हो ।केही दिनअघि जिल्ला न्यायाधीश नियुक्त भएकाहरु न्याय सेवा आयोगले लिएको परीक्षा उत्तिर्ण हुन नसकेकाहरु पनि परेका भन्दै समिति बैठकमा सांसदहरुले विरोध जनाएका थिए । सांसदहरुले न्याय परिषद् र न्याय सेवा आयोगलाई नै समिति बैठकमा बोलाएर यसबारे छलफल गर्नुपर्ने बताएका थिए ।

सोही कुराको जवाफ दिँदै मन्त्री गुरुङले संविधानको धारा १४९ को उपधारा(२)(क) बमोजिम न्यायाधीशहरुको नियुक्तिका लागि सिफारिस गरिएको बताउनुभएको हो । उहाँले न्यायाधीश नियुक्तिमा न्याय परिषद् र न्याय सेवा आयोगले संविधानका बिरुद्धमा काम नगरेको स्पष्ट पार्नुभयो । उहाँले समितिले न्याय परिषद् र न्याय सेवा आयोगसँग पनि छलफल गर्नसक्ने बताउनुभयो ।

मन्त्री गुरुङले सम्पत्ति शुद्धीकरण(मनि लाउण्डरिङ) सम्बन्धि विधेयक संसदबाट पारित गर्न ढिलो भइसकेको बताउनुभयो । उहाँले उपसमिति बैठकमा संशोधनकर्ता सांसदहरु नै अनुपस्थित भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सांसदहरुको पहिलो प्राथमिकता कानून निर्माण गर्ने भएको उल्लेख गर्दै कुनैपनि बहानामा यस कामलाई नपन्छाउन आग्रह गर्नुभयो । मन्त्री गुरुङले सांसदहरु जिल्ला गएकोप्रति लक्षित गर्दै जिल्ला घुम्नेले जिल्ला समन्वय समितिको संयोजक अथवा उपसंयोजक बन्ने हो भनि टिप्पणी गर्नुभयो ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले सम्पति शुद्धीकरण(मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको म्याद ७ दिनका लागि थप गरेको छ । ७ दिनपछि उपसमितिले समिति समक्ष प्रतिवेदन पेश गर्ने र केही दिन समितिमा दवाफार छलफल गरी संघीय संसदमा पठाइने गरी तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू