अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वाटरफाइनलमा : माल्दिभ्स १ सय ३८ रनले पराजित

बिआरटीनेपाल २०८० असोज १४ गते ७:३८ मा प्रकाशित

नेपालले १९औँ एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई एक सय ३८ रनले हराएको छ । जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ ।नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ ओभर ४ बलमा ७४ रनमा अलआउट भयो ।माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक ३६ रन बनाए । नेपालका तीव्र गतिका बलर अभिनाश बोहाेराले ६ विकेट लिए । उनी टी–२० मा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५/५ विकेट लिएका थिए ।

हान्झाउमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल ४७ रनमा अविजित रहे । कुशल भुर्तेल र गुलशन झाले समान ३५ रन जोडे ।आसिफ शेख र दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेट किपर विनोद भण्डारी १३ रनमा आउट भए । त्यस्तै, सन्दीप जोरा ५ रनमा आउट भए । माल्दिभ्सका बदिउ इस्माइल नवाजले सर्वाधिक ३ विकेट लिए ।

नेपालले पहिलो खेलमा मङ्गोलियालाई २ सय ७३ रनले हराएको थियो भने माल्दिभ्सले पनि पहिलो खेलमा मङ्गोलियालाई ९ विकेटले हराएको थियो । नेपाल र मङ्गोलियाबीचको खेलमा विभिन्न विश्व कीर्तिमान समेत बनेका थिए । टी–२० मा ३ सय रन बनाउने नेपाल पहिलो देश बनेको थियो भने कुशल मल्लले सर्वाधिक छिटो ३४ बलमा शतक र दिपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतकको कीर्तिमान बनाएका थिए । क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्लादेश, अफगानिस्तान र श्रीलङ्का छन् । क्वाटरफाइनलको ‘ड्र’ भोलि हुनेछ । क्वाटरफाइनलका खेलहरु मङ्गलवार र बुधवार हुनेछन् । शुक्रवार सेमिफाइनल र फाइनल शनिवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू