अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरेका छाैँ : शिक्षामन्त्री राई

बिआरटीनेपाल २०८० असोज १४ गते ७:२७ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्ने कुरा विधेयकमा समावेश गरिएको बताउनुभएको छ । आज आइतवार प्रतिनिधिसभामा ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गर्दै मन्त्री राईले विधेयकमार्फत शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिएको बताउनुभएको हो । उहाँले मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा भए पनि आस्थाका कारणले पठनपाठनलाई प्रभावित पार्न नहुनेमा सरकार सचेत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यालयको सम्पत्ति सुरक्षित हुनुपर्छ । त्यसको दुरुपयोग हुनु हुँदैन भन्ने कुरामा पनि विधेयकमा प्रस्ताव अगाडि सारिएको छ । शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्नुपर्छ । मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ तर त्यो आस्थाका कारणले पठनपाठनलाई प्रभावित पार्नु हुँदैन । शिक्षाको गुणस्तरलाई प्रभावित पार्नु हुँदैन । शिक्षकहरूले कुनै पार्टीकाे सदस्यता लिएर कसैका विरुद्धमा कसैका लागि भोट माग्ने काम गर्नु हुँदैन भन्ने कुरा पनि विधेयकमा राखिएकाे छ । ट्रेड युनियन अधिकारअन्तर्गत आफ्नो पेसागत हक हितका निम्ति शिक्षकहरूले सङ्गठित हुन पाउने शिक्षक महासङ्घको व्यवस्था गरिएको छ । त्यस हिसाबले शिक्षकहरूको पेसागत उन्नयन र उनीहरूको पेसागत हक अधिकार र कर्तव्यलाई सुनिश्चित गर्ने गरी यो विधेयक प्रस्ताव गरिएको छ ।’

शिक्षामन्त्री राईले पाठ्यक्रम विकासका सम्बन्धमा पाठ्यपुस्तक तर्जुमा गर्नुपर्ने सन्दर्भमा पनि अहिलेको समसामयिक परिवर्तनलाई समेत आत्मसात् गरेको पाठ्यपुस्तक तयार गर्नुपर्नेतर्फ विधेयकको ध्यान गएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू