अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

वसन्तपुरमा इन्द्रजात्राको राैनक, राष्ट्रपतिद्वारा अवलाेकन

बिआरटीनेपाल २०८० असोज ११ गते ७:११ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राकाे अवसरमा राष्ट्रपति पौडेलले न्युराेडकाे जुद्ध शालिकबाट पैदलै हनुमाढोका दरबार क्षेत्रमा रहेको गद्दी बैठकमा गएर जात्रा अवलोकन गर्नुभएको हो । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्ध शालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए । जात्रा अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत मन्त्री, सांसद, प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म गएका थिए ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । काठमाण्डौ महानगरले जात्रा हेर्न केही विदेशी पाहुनासमेत बोलाएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन गएको मङ्गलवार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाण्डाै शाखाले जनाएको छ । असोज १५ गते अर्थात् आउँदो सोमवार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाउने तयारी छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार गएर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुहुनेछ । टीकाप्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ । असोज १५ गते सोमवार राति ८ बजेर ३७ मिनेटमा इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुनेछ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानको बाग्मती किनारमा सेलाइन्छ ।इन्द्रजात्रा प्रताप मल्लको पालामा शुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले शुरु गर्नुभएको थियो । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो । वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा पनि गरिएको थियो । सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू