नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा संघीयतादेखि गठबन्धनको बलमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्नेसम्मका विषय उठेका छन् । अहिले जनतामा देखिएको निराशा सरकारले सम्बोधन गर्न नसकेपछि सरकारको अपजस कांग्रेसले पनि पाउने भएकाले विकल्प खोज्नुपर्नेमा अधिकांश नेताको धारणा छ ।त्यसो त कांग्रेस नेता डा. शेखर कोइरालाले पछिल्लो समय प्रचण्ड सरकारले समाजमा अराजकता बढाएको भन्दै कांग्रेसले नेतृत्व लिनुपर्ने बताउँदै आइरहनुभएको छ । सानेपामा जारी बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयतामाथि नै प्रश्न उठाउनुभयो । स्थानीय तहलाई जनताले रुचाएपनि प्रदेशप्रति जनतामा वितृष्णा छाएको उहाँको भनाइ थियो ।
यस्तै, अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले पनि हिन्दू राष्ट्र पक्षमा वकालत र संघीयताको विषयमा प्रश्न उठाउनुभयो । विगतको महासमितिको बैठकमा हिन्दु राष्ट्रको पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेर बुझाउँदा पनि सभापतिले थन्काएर राखेको उहाको आरोप थियो । अहिलेसम्मको अभ्यासले देखिएको र जनताको भावना पनि बुझिसकेकाले संघीयताबारे पुनर्विचार गर्न भण्डारीले आग्रह गर्नुभयो । संघीय प्रणाली मुलुकको समग्र हितको लागि मात्रै नभएर राष्ट्रिय सुरक्षाको दृष्टिले पनि खतरा रहेको उहाको टिप्पणी थियो ।
अर्का सदस्य राजीव ढुंगानाले पनि सरकारको कामको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । भ्रष्टाचारका केही फाइल खोलिएपछि भ्रष्टाचार घटेको महसुस भएपनि शान्ति सुरक्षाको स्थिति ठीक नभएको ढुंगानाले बताउनुभयो । यस्तै, कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धन जोगाएर सरकारमा पार्टी जानुलाई नै उपलब्धि मान्न नसकिने बताउनुभयो । उहाँले पार्टी बैठकको निर्णय प्रेस विज्ञप्तिमा सीमित राख्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य भीम पराजुलीले पनि हिन्दू राष्ट्रको पक्षमा उभिन प्रस्ताव गर्नुभएको छ । कांग्रेसकै कारणले माओवादीको प्रधानमन्त्री र गृहमन्त्री भएको अवस्था पनि दिनदहाडै सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार भएको उहाँले बताउनुभयो । सुन प्रकरणमा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सबै समाचार माध्यममा पनि गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई छानीछानी दुःख दिने नियतले अगाडि बढेको पराजुलीको आरोप थियो ।