अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

शिक्षकहरुको जायज मागलाई सम्बोधन गर्नुपर्छ : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८० असोज ५ गते ६:२६ मा प्रकाशित

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरुको जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकहरुको उपयुक्त र जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले संविधानले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहले सो जिम्मेवारी पूरा गर्न सक्नेमा आशंका व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिमा भन्दा आफ्ना मान्छेलाई नियुक्त गर्नका लागि मात्रै प्रयोग गर्ने हो कि भन्ने आशंकाका कारण प्रश्न उठिरहेको बताउनुभयो । यद्यपी संविधानले दिएको अधिकारलाई अहिले नै परिवर्तन गर्न नसकिने उहाँको भनाई छ । वार्ता र छलफलबाट तत्कालै सम्बोधन गर्न सकिने कुराहरुलाई सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष नेपालले देशमा संकटको बादलहरु मडारिएको बताउनुभयो । उहाँले गठबन्धनमा आवद्ध पार्टी र नेताहरु अनुभवि रहेका भन्दै नेताहरु एक ठाउँमा बसेर छलफल गरेमा समस्यामा समाधान निकाल्न सक्ने बताउनुभयो । उहाँले देशको समस्याको समाधान सबैभन्दा बढी कम्युनिष्ट पार्टीले मात्र दिनसक्ने उल्लेख गर्नुभयो । कम्युनिस्ट पार्टीसँग वैज्ञानिक दृष्टिकोण भएको कारण समस्याको समाधान गर्नसक्ने उहाँको भनाई छ । अध्यक्ष नेपालले देशलाई समृद्ध बनाउनका लागि पर्यटन प्रवद्र्धनमा जोड दिनुभयो । त्यसैगरी नेपाली उद्योगि, व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू