अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

सुन तस्करी प्रकरण : सीआईबीले प्रतिवेदन बुझाउँदै

बिआरटीनेपाल २०८० भदौ २६ गते ५:५६ मा प्रकाशित

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हङकङबाट ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताउनुभयो ।सङ्गठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले त्याे अवधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ । प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सीआईबीका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

यस सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । चिनियाँ नागरिकले त नेपाली नागरिकतासमेत लिएको खुलेको छ । तस्करीमा भन्सारका कर्मचारीकै मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली पक्राउ गरेको थियो ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको ‘अपरेशन’ का क्रममा हङकङबाट ‘ब्रेक शु’ मा हालेर ल्याइएको सुन सिनामङ्गलकाे भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो । सुन भन्सार पास भएर निस्किएको थियो । विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ ।  ‘ब्रेक शु’ सहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो । अहिले याे सुन राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।

प्रतिक्रिया