अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक हो : अर्थमन्त्री डा. महत

बिआरटीनेपाल २०८० भदौ २६ गते ५:५४ मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको दाबी गर्नुभएको छ । मंगलवार काठमाडौंमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो । उहाँले हरेक नागरिकको क्षमता,सिर्जना,सम्भावना र उद्यमशिलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव रहेको भन्दै त्यो पनि निजी क्षेत्रले गर्नसक्ने बताउनु भयो ।

उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक न्याय बाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको अहं भूमिका हुने उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले राज्यको निर्णायक भूमिका सरकारसँग भएका साधन स्रोत प्रयोग गरी ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्नु भएको पनि उल्लेख गर्नुभयो । उहाँले सरकारले निजी क्षेत्रलाई उच्च महत्व दिइरहेको दाबी गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा समस्या भए पनि अर्थतन्त्रको समस्या धेरै समय नरहने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री महतले मुलुकको आर्थिक गतिविधिहरु बिस्तारै सुधार हुँदै गएको बताउनु भयो । अर्थमन्त्री महतले पहिले सवारी साधनलाई विलासिताका साधन मानेर कर लगाउने गरिएको भएपनि अब त्यस्तो सोच राख्न आवश्यक नरहेको बताउनु भयो । उहाँले पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो क्रममा रहेकाले सरकारले यसको प्रयोगमा सहज नीति अंगिकार गरिरहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनमार्फत अटोमोबाइल क्षेत्रको कर कम गर्न सकिने बताउनु भयो ।

उहाँले विद्युतीय सवारी साधनलाई सहज बनाउनको लागि सरकारले चार्जिङ स्टेशनहरु वृद्धि गरिहेको बताउनु भयो । उहाँले अब सार्वजनिक र ढुवानीका सवारी साधनहरुलाई पनि विद्युतीय सवारीको रुपमा लैजान आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री महतले अटो मोवाइल क्षेत्रमा देखिएका समस्याहरु सामधान गर्न सरकार तयार रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू