अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 09:20

ललितानिवास प्रकरणमा सरकारी वकिलसँगै तीन प्रतिवादीको थुनछेक बहस सकियो

बिआरटीनेपाल २०८० भदौ १८ गते ७:१६ मा प्रकाशित

ललितानिवास जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलका तर्फबाट थुनछेक बहस सकिएको छ । आइतबार र सोमबार गरी आठ जिल्ला न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ताले बहस गरेपछि प्रतिवादीको बहस सुरु भएको हो । सोमबार प्रतिवादीहरु शिवजी भट्टराई, रुद्रकु्मार श्रेष्ठ र बालकृष्ण श्रेष्ठका तर्फका वकिलको बहस पनि सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो ।

सरकारी वकिलका तर्फबाट आइतबार जिल्ला न्यायाधिवक्ता महेश खत्री र रमेश भट्टराई तथा सहायक जिल्लान्यायाधिवक्ताहरु चन्द्र संजेल र दिनेश भट्टराईले थुनछेक बहस गर्नुभएको थियो। सोमबार जिल्ला न्यायाधिवक्ताहरु बाशुदेव शर्मा र जनक घिमिरे तथा सहायक जिल्ला न्यायाधिवक्ताहरु प्रकाश ज्ञवाली र प्रकाश गिरीले बहस गरेपछि सरकारी वकिलको बहस सकिएको हो ।

आज चियाब्रेकपछि प्रतिवादी शिवजी भट्टराईका वकिलहरुले बहस गर्नुभयो । भट्टराईका तर्फबाट अधिवक्ताहरु प्रकाश आचार्य, भीमबहादुर गुरुङले बहस गर्नुभयो । यस्तै, प्रतिवादी रुद्रकुमार श्रेष्ठका तर्फबाट पनि बहस सकिएको छ । श्रेष्ठका तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरु जगन्नाथ श्रेष्ठ र रुपबहादुर बोगटीले बहस गर्नुभयो।

अर्का प्रतिवादी बालकृष्ण श्रेष्ठका तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराजा जोशीले बहस गर्नुभएको थियो । मंगलबारको पहिलो बहस भाटभटेनी सुपरमार्केटका सञ्चालक समेत रहेका प्रतिवादी मीनबहादुर गुरुङको हुने काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू