प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको बताउनुभएको छ ।शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गर्नुभयो ।
‘सरकारले इतिहासले नै सम्झिनेगरी कयौं साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको छ । एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो,”राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको छ । तर हामीले आफैंले गरेका राम्रा काम पनि जनतासम्म पुर्याउन सकेका छैनौं । यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्नेछ ।’’
प्रचण्डले जनताले देखेका सपना, अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशील हुने बताउनुभयो । उहाँले नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको समेत बताउनुभयो । प्रचण्डले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट भर्चुअल माध्यमबाट देशभर अभियानको उद्घाटन गर्नुभयो । आज दिउँसो १ बजे सबै वडाहरुले कार्यक्रम राखी अभियान सुरु गरेका हुन् ।