सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले भर्खरै सम्पन्न केन्द्रीय कार्य समितिले भदाै १० देखि २४ गतेसम्मका लागि तय गरेको कार्यक्रम स्थगित गर्ने निर्णय भएकाे जानकारी गराएकाे हाे ।
अविरल वर्षा, बाढी, पहिरो, डेङ्गी तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भीर रूपमा प्रभावित भएकाले उनीहरूको सेवामा जुट्न पार्टीका सङ्गठनहरूलाई आह्वान गर्दै अर्को निर्णय नभएसम्मका लागि त्याे कार्यक्रम स्थगन गर्ने निष्कर्षमा पुगेकाे पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताउनुभयो ।
कांग्रेसले साउन २० देखि ३० गतेसम्म सञ्चालन गरिएका पार्टीको विशेष आन्तरिक अभियान पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै त्यस अभियानमा संलग्न पार्टी नेता र कार्यकर्तालाई आभार व्यक्त गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वकर्माले त्याे अभियानले पार्टीको सङ्गठनलाई चुस्त बनाउन पनि महत्त्वपूर्ण काम गरेको बताउनुभयो । त्याे अभियानमा लागि कांग्रेसले पार्टीका सांसदबाहेकका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सबै जिल्लामा केन्द्रीय प्रतिनिधिको रूपमा परिचालन गरेको थियो ।