अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

शीर्ष नेताहरुबीच छलफल नहुँदा प्रतिनिधिसभा फेरि स्थगित

बिआरटीनेपाल २०८० भदौ ५ गते ७:२१ मा प्रकाशित

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक फेरि सरेको छ ।  प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलि  दिउँसो ३ बजेका लागि सारिएको हो । सुन तस्करी प्रकरणलाई लिएर संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग कार्यान्वयनकै चरणमा रहेको बेला बैठक भोलिका लागि सारिएको हो । एमालेले सुन तस्करी प्रकरण अनुसन्धानको लागि उच्चस्तरीय स्वतन्त्र न्यायिक समिति गठन हुनुपर्ने माग गर्दै साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ ।  संसद लामोसमय अवरोध भएपछि सत्तापक्ष र प्रतिपक्षबीच सोमबार राति उच्चस्तरीय समिति बनाउने सहमति भएको छ ।

उच्चस्तरीय समितिको टीओआर तय गर्नका लागि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका प्रमुख रमेश लेखक सदस्य रहेको ३ सदस्यीय कार्यदल समेत बनाइएको छ ।  कार्यदललाई आजै ड्राफ्ट तयार पार्न भनिएको छ । कार्यदलले तयार पारेको ड्राफ्टबारे सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुबीच आजै छलफल हुने भनिएको थियो । तर शीर्ष नेताहरुबीच अहिलेसम्म छलफल नहुँदा प्रतितिनिसधा बैठक भोलिका लागि सारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू