अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०४ | Colorodo: 09:19

अवरुद्ध संसद खुलाउन छलफलको लागि सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी

बिआरटीनेपाल २०८० साउन ३२ गते ८:५८ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले पटक सर्वदलीय बैठक बोलाउने तयारी गर्नुभएको छ ।सत्ता र प्रतिपक्षको टकरावले संसद लामो समयदेखि अवरुद्ध भएपछि त्यसलाई खुलाउने उपायबारे छलफलको लागि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउन लाग्नुभएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी छानविनको लागि उच्चस्तरीय स्वतन्त्र न्यायिक समिति बनाउन माग गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दे आएको छ । सत्ता पक्षले भने  सुन तस्करी  छानविन प्रहरी केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी)लाई जिम्मा लगाएर उच्चस्तरीय स्वतन्त्र न्यायिक समिति बनाउन  इन्कार गरिरहेको छ ।

सत्ता र प्रतिपक्षको फरक अडानले संसद बैठक अन्योलमा परेको छ । संसद अवरुद्ध हुँदा विभिन्न विधयेक छलफल हुन नपाएर अड्किएका छन् । त्यसले सरकारको काम कारबाही समेत प्रभावित भएको छ । राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले  सबै राजनीतिक दलका नेताहरुसँगको भेटघाट र संसद खुलाउनेबारे छलफल गर्नका लागि छिट्टै सर्वदलीय बैठक बोलाउन लागिएको जानकारी दिनुभएको  छ । तर कहिले बोलाउने भन्ने मिति भने तय भइसकेको छैन ।  ‘राष्ट्रपति भएपछि बिरामी परेकाले उहाँले सबै दलका नेताहरूसँग एक पटक पनि भेट्न पाउनु भएको छैन’ उहाँले भन्नुभयो– अहिले स्वास्थ्य पनि ठिक भएकोले एक पटक सबैलाई भेट्नु पर्छ भनेर तयारी भइरहेको हो ।’

नेपाली कांग्रेसबाट लामो समय राजनीतिमा सक्रिय हुँदै आउनुभएका पौडेल २०७९ फागुन २५  गते राष्ट्रपति बन्नुभएको छ । राष्ट्रपति पौडेल शपथ लिएको केही महिनादेखि नै बेलाबखत बिरामी पर्दै आएको कारण अहिलेसम्म सर्वदलीय बैठक बोलाउन सक्नुभएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू