अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित

बिआरटीनेपाल २०८० साउन २९ गते ६:०२ मा प्रकाशित

सुन तस्करीको छानविनका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपा एमालेले सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेको छ । बैठक कार्यसूचीमै प्रवेश नगरी भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरु आसनबाट उठेर विरोध गरेका थिए । एमाले सांसद उठिरहेकै बेला कांग्रेस सांसद सुनीलकुमार शर्मा पनि आसनबाट उठ्नुभयो। त्यसपछि सभामुख देवराज घिमिरेले सांसद शर्मालाई आफ्ना कुरा छोटकरीमा राख्न समय दिनुभयो।

सांसद शर्माले आफूले सुन तस्करीका नाइकेलाई पक्राउ गर्नुपर्छ भनेर बोलेपछि आफुलाई सरकारले पक्राउ गरेको भन्दै गृहमन्त्रीको राजीनामा माग्नुभयो। शर्मा बोलिसकेपछि सभामुखले एमाले सांसद मानबहादुर राईलाई बोल्न दिनुभयो । राई बोल्न लाग्दा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका हितराज पाण्डेले शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाउदै संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । राई बोलिसकेपछि सभामुखले बैठकलाई कार्यसूची अनुसार अघि बढाउने तरखर गरेपछि एमाले सांसदहरु नाराबाजीमा उत्रिए । उनीहरुलाई आसन ग्रहण गर्न सभामुखले पटक पटक आग्रह गरेपनि नसुनेपछि र नाराबाजी नरोकिएपछि सभामुख घिमिरेले भदौ ३ गते सम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

नेकपा एमालेले गत साउन १० गतेदेखि नियमित रुपमा सदन अवरोध गर्दै आएको छ । उसले तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र र न्यायीक छानविन समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया