अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३१ | Colorodo: 13:46

जन सेवाको कामलाई पहिलो प्राथमिकता दिने छु : नवनियुक्त मन्त्री साह

बिआरटीनेपाल २०८० साउन २९ गते ५:३६ मा प्रकाशित

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ । सोमबार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्नुभएका उहाँले आफ्नाे मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढंगले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताउनुभएको हो ।

सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री साहले आम नागरिकको लागि मन्त्री पदको जिम्मेवारी लिएकाले संविधानले दिएको जिम्मेवारी अनुसार आफू अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पार्टीले दिएको निर्देशन अनुसार भन्दा पनि संविधानको व्यवस्था अनुसार आफूले काम गर्ने उहाँको भनाई थियो ।

जनमत पार्टीको तर्फबाट साह मन्त्री पदमा नियुक्त हुनुभएको हो । यसअघि माओवादी केन्द्रको तर्फबाट सो मन्त्रालयको जिम्मेवारी लिनुभएका अमनलाल मोदीलाई साउन २८ गते आईतबार मन्त्री पदबाट फिर्ता बोलाइएको थियो । जनमत पार्टी एक मन्त्रीसहित पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको थियो । अब्दुल खानलाई प्रधानमन्त्री दाहालले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपनि चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू