सामाजिक सञ्जालमा आएका युरोप रोजगारीको विज्ञानपनमा विश्वास नगर्न वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।पछिल्लो समय युरोप रोजगारीका विभिन्न विज्ञापनहरू फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतबाट गर्दै ठगी गर्ने क्रम बढेको भन्दै यसरी आउने विज्ञापनमा विश्वास नगर्न विभागले भनेको हो । युरोपका देश रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्वानिया र क्यानडाजस्ता देशमा काम गर्ने भिसामा पठाइदिने भन्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने र ठगी गर्ने क्रम बढेको छ । यस्ता देशहरूमा रोजगारीको अवसर भन्दै सरकारसँग अनुमति बिनै विज्ञापन भइरहेको विभागले जनाएको छ ।
नेपालबाट वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिनुपर्छ । वैदेशिक रोजगारीमा कामदार पठाउन कुनै पनि म्यानपावर कम्पनीले विभागसँग अनुमति लिएका हुनुपर्छ भने विदेशबाट ल्याएको काम सम्बन्धित देशमा रहेको नेपाली नियोगबाट प्रमाणीकरण गराउन पर्छ ।दूतावासबाट प्रमाणीकरण भएका कामको मागमा विभागबाट पूर्व स्वीकृति लिएपछि मात्रै राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्न पाइन्छ । तर पछिल्लो समय युरोपका देशहरूमा कामको अवसर भएका विज्ञापनहरू सामाजिक सञ्जालमार्फत कुनै अनुमति बिनै गर्ने गरिएको छ ।