नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दाबी गर्नुभएको छ । स्वीजरल्याण्ड पुग्नुभएका अध्यक्ष नेपालले नितान्त असल मनसायले बालुवाटार विस्तारको काम अघि बढाएको दाबी गर्नुभएको हो । ललिता निवासको जग्गा हिनामिना प्रकरणबारे आइतवार सर्वोच्च अदालतले दिएको आदेशबारे आफ्नो केही भनाइ नरहेको नेपालको भनाई छ । ”एउटा भनाइ छ न बिराउनु न डराउनु । मैले केही बिराएको छैन, बदमासी गरेको छैन । भ्रष्टाचार गरेको छैन”, उहाँले भन्नुभयो,”मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टर प्लानअनुसार अगाडि बढाएको हुँ। कुनै अनुचित काम मैले गरेको छैन । मैले राष्ट्रिय सम्पत्तिविरुद्ध र भ्रष्टाचारको पक्षमा कुनै काम गरेको छैन । त्यसो हुनाले मैले अदालतको निर्णयबारे केही भन्नु छैन” ।
अध्यक्ष नेपालले कुनै पनि व्यक्तिलाई उन्मुक्ति दिन नहुने पनि बताउनुभयो।”कसै पनि व्यक्तिलाई उन्मुक्ति दिने होइन । छानबिन गर्ने र कसैले बदमासी गरेको छ भने दण्डित गर्नुपर्छ”, उहाँले भन्नुभयो ।अध्यक्ष नेपाल पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन भन्दै सोमवार बिहान विदेश प्रस्थान गर्नुभएको थियो । ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद् बैठकका निर्णयकर्तामाथि पनि छानबिन गर्न सर्वोच्च अदालतले आदेश भोलिपल्ट सोमवार बिहान अध्यक्ष नेपाल विदेश प्रस्थान गर्नुभएको हो । नेपाल भाद्र १ गते नेपाल फर्किने कार्यक्रम छ।
सर्वोच्च अदालतले आइतवार नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै जग्गा प्रकरणमा मन्त्रिपरिषद्मा निर्णय गर्नेहरू पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललगायतमाथि अनुसन्धान गर्न बाटो खुलेको छ ।