पाकिस्तान सरकारले आफ्नो राष्ट्रिय पुरुष क्रिकेट टिमलाई भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न अनुमति दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तीमार्फत पाकिस्तानी टिमले भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुने सुनिश्चित गरेको हो ।पाकिस्तान सरकारले खेलकुदलाई राजनीतिक मुद्दा बनाउन नचाहेको स्पष्ट पार्दै विश्वकपका लागि टोली पठाउने निर्णय गरेको जनाएको छ । यस विषयमा पाकिस्तानले आइसिसीलाई पनि जानकारी गराएको छ ।
यसका साथै भारतीय सम्बन्धित निकायसँग पनि कुरा गरेको बताइएको छ । विश्वकप यही अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म हुँदैछ । लामो समयदेखि पाकिस्तानले भारतमा हुने विश्वकप खेल्ने वा नखेल्नेबारे आशंका उत्पन्न भएको थियो । गत महिना पाकिस्तानले आयोजना गर्ने एसीसी एसिया कपलाई लिएर दुई देशबीचको विवाद उत्कर्षमा पुगेको थियो । भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ मा अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।