संसद अवरोध हटाउने बिषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको छलफल जारी छ । सभामुख देवराज घिमिरेले संसद अबरोध हटाउने विषयमा पहल गर्दै आज सोमबार १ बजे पनि प्रमुख तीन दलका शीर्ष नेताको बैठक राख्नु भएको थियो । तर १ बजेको बैठक बिना निष्कर्ष टुंगिएपछि अर्काे बैठक आजै साढे ३ बजे बस्ने तय भएको थियो । त्यसपछि अहिले नेताहरुबीच छलफल भइरहेको हो ।
सिंहदरबारमा भइरहेको छलफलमा सभामुख घिमिरेका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको सहभागिता रहेको छ । झण्डै सय किलो सुन तस्करी प्रकरणमा एमालेले उच्च स्तरीय छानविन समिति माग गर्दै संघीय संसदका दुवै सदन (राष्ट्रिय र प्रतिनिधि सभा) को बैठकहरु अवरुद्ध गरिरहेको छ । यस अघि आज बसेको बैठकमा प्रधानमन्त्री दाहालले संसद बैठक खुलाउने विषयमा सैद्धान्तिक सहमती भएको र साढे ३ बजेपछि बस्ने बैठकले त्यसलाई टुंगोमा पुर्याउने प्रतिक्रिया दिनु भएको थियो । उता बैठकमा एमालेले भने सुन प्रकरण छानविनका लागि सत्तापक्ष सहमत भएमात्रै संसद बैठक अगाडि बढने अडान राखेको थियो ।
यही साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो । यही विषयलाई लिएर एमालेले संसद अवरोध गर्दै आइरहेको हो । सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् ।