अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

अगस्त्य’को विदेशमा २५ सयभन्दा बढी सो हुने

बिआरटीनेपाल २०८० साउन २० गते ९:२७ मा प्रकाशित

काठमाडौँ । डार्क हर्ष इन्भेस्टमेन्ट प्रालिद्वारा निर्माणाधीन फिल्म ‘अगस्त्य–भाग १’ को अन्तर्राष्ट्रिय रिलिज महँगो रकममा बिक्री भएको छ । डार्क हर्ष इन्भेस्टमेन्ट र सेभेन सिज प्रालिबीच ‘अगस्त्य भाग १’ को अन्तर्राष्ट्रिय रिलिजलाई लिएर सम्झौता भएको हो । सम्झौताअनुसार सेभेन सिजले संयुक्त राज्य अमेरिका र बेलायतमा करिब ८०० देखि १००० सो, क्यानडामा १५० सो, युरोपका बाँकी देशहरू, जापान, कोरिया, हङकङ र थाइल्यान्डमा गरी १५० सो, अस्ट्रेलिया र न्यु जिल्यान्ड विभिन्न सहरहरूमा करिब ५०० सो र मध्यपूर्वका विभिन्न देशहरूका हलमा ७५० सो प्रदर्शन हुनेछ ।

निर्माण पक्षले फिल्मको छायाङ्कन करिब ४५ प्रतिशत सकिँदै गर्दा नै अन्तर्राष्ट्रिय रिलिज महँगो रकममा बिक्री हुनुलाई उपलब्धि मानेको छ । ‘सेभेन सिज प्रालिसँगको यो सम्झौता ‘अगस्त्य भाग १’ का लागि मात्रै नभएर सिंगो नेपाली फिल्म उद्योगकै लागि सकारात्मक कुरा हो’, डार्क हस् इन्टरटेनमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘अगस्त्य–भाग १’ को ४५ प्रतिशत छायाङ्कन भारत उत्तर प्रदेशको विभिन्न स्थानमा गरिसकिएको छ भने बाँकी ५५ प्रतिशत छायाङ्कन पूर्वी तराईका विभिन्न जिल्लामा आगामी हप्तादेखि सुरु हुँदैछ।

फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मालिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायत अन्य नेपाली कलाकारसँगै बलिउड कलाकारहरूको पनि अभिनय रहेको छ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता प्रकाश मल्ल, अनीश तामाङ र विश्वप्रकाश गोचन रहेका छन्। फिल्मको प्रदर्शन मिति भने छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया