अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

गौर हत्याकाण्डका पीडित र प्रधानमन्त्री प्रचण्डबीच भेट, वार्ता समिति बनाउने प्रधानमन्त्रीको आश्वासन

बिआरटीनेपाल २०८० साउन २० गते ३:३६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत गौर हत्याकाण्डका पीडितहरुलाई वार्ता समिति बनाएर न्यायका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । रौतहटको गौरमा १६ वर्षअघि भएको हत्याकाण्डका पीडितहरुले घटनाको छानबिन गरी न्याय दिन माग गर्दै आन्दोलनमा उत्रिएका थिए । पीडितले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले पीडितको आन्दोलनमा सरकारको ध्यानाकर्षण भएको भन्दै पीडित परिवारलाई काठमाडौं बोलाएर त्यसबारे छलफल गर्नुभएको हो ।

पीडित परिवारका सदस्यहरुले शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री दाहालले गृहसचिवको नेतृत्वमा यथासक्य छिटो वार्ता टोली बनाउने र ठोस सहमति गर्ने आश्वासन दिनुभयो । प्रधानमन्त्री प्रचण्डले माग सम्बोधन गर्ने विषयमा आफू सकारात्मक रहेको र गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाएर अघि बढ्ने आश्वासन दिएको संघर्ष समितिले जनाएको छ ।

घटनाको छानबिन हुनुपर्ने माग गर्दै पीडितहरु यसअघि एक सातादेखि चन्द्रनिगाहपुरमा धर्ना बसेका थिए । २०६३ चैत ७ गते गौरस्थित राइसमिल चौरमा फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो । मृतकका परिवारले राज्यबाट ९ महिनापछि १० लाख रुपैयाँका दरले क्षतिपूर्ति पाएका थिए । यसअघि पीडितहरुले चन्द्रनिगाहपुरमा धर्ना थालेपछि प्रधानमन्त्री कार्यालयले बिहीबारै संघर्ष समितिलाई पत्राचार गरेर वार्ता र संवादमा आउन आह्वान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू