अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

कैदी सरुवा विवादमा झापा कारागारमा आगजनी

बिआरटीनेपाल २०८० साउन १९ गते ५:३६ मा प्रकाशित

कैदीको सरुवाको विषयमा झापा कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ । झडपकै क्रममा कारागारभित्र आगलागी समेत भएको छ ।कैदीबन्दीले नै आगो लगाएको प्रहरीले जनाएको छ । दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो।मनोज लावती नामका कैदीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार दिउँसो ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नारा जुलुस र ढुङ्गामुढा शुरु गरेका थिए ।

आगो निभाउन मेचीनगर, भद्रपुर र बिर्तामोडको दमकल कारागार पुगेका थिए । असन्तुष्ट कैदीबन्दीले भित्रबाट कारागार परिसरमा ढुङ्गामुढा गरेका कारण एक घण्टासम्म प्रहरीलाई समेत भित्र जान दिएका थिएनन् । प्रजिअ पोखरेलले घटनामा कुनै मानवीय क्षति नभएको बताउनुभयो । कैदीबन्दीले हुलदङ्गा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ । उनीभित्र गएपछि कैदीबन्दीले ढुङ्गामुढा बन्द गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू