राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विषयको दूरगामी प्रभाव हेरेर मात्रै विधेयक बनाउनुपर्ने बताउनुभएको हो ।अध्यक्ष तिमिल्सिनाले एक, दुई वर्षमै परिवर्तन हुनेगरी विधेयक बनाउनु नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले सांसदहरुले आफ्नो अध्ययनको सीमा बढाउँदै र विषयवस्तुको गहिराईमा पुगेर मात्रै विधेयक बनाउनुपर्ने बताउनुभयो । नीति, निर्माण गर्न आएका सांसदहरु त्यता केन्द्रित हुन नसकेका भन्दै उहाँले जनतालाई पनि आफ्नो भुमिकाप्रति जागृत गराउनुपर्ने बताउनुभयो ।
उहाँले संघीयतालाई कार्यान्वयन गर्नका लागि प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनुभयो । संघले अधिकारहरु आफूलाई मात्र राख्नु नहुने उहाँको भनाई छ । यसतर्फ सबैको खबरदारी आवश्यक रहेको उहाँले बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले जिल्ला समन्वय समितिलाई कामकाजी बनाउन नसक्ने हो भने हटाउनुपर्ने धारणा राख्नुभयो । उहाँले जिल्ला समन्वय समितिको औचित्यमाथि बहश गर्नुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले संघीय संरचनामा गएपछि जिल्लास्थित कार्यालयहरु कम हुने र पालिकामा जाने भनिएपनि अहिले जिल्लामा झनै धेरै कार्यालयहरु थुप्रिएका बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहकै आफू मातहतका कार्यालयहरु जिल्लामा थुप्रिएका उहाँले उल्लेख गर्नुभयो ।