अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०९ | Colorodo: 11:24

चिनियाँ सुरक्षा अधिकारी मुस्ताङमा, व्यापार मेला लगाउने विषयमा छलफल

बिआरटीनेपाल २०८० साउन १२ गते ७:२५ मा प्रकाशित

राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) राजमार्ग सडक अनुगमन गर्दै बिहीबार साँझ चिनियाँ सुरक्षा अधिकारीहरूको टोली मुस्ताङ आइपुगेको छ। द्विपक्षीय सीमा सुरक्षा, सडक मार्गको अवस्था, कोरलानाका सञ्चालन तथा व्यापार मेला सञ्चालनलगायतका विषयमा जानकारी लिन चिनियाँ सुरक्षा अधिकारीहरू मुस्ताङ आएका हुन्। चीनको स्वशासित क्षेत्र तिब्बतको झोङ्वा काउन्टी प्रमुख लुवु सिरेन, सिकात्से परराष्ट्र कार्यालयका उपनिर्देशक सी ड्यान, सिगात्से नगर वाणिज्य व्युरो पोर्टका डिभिजन उपप्रमुख ली चुन र सिकात्से नगर परराष्ट्र कार्यालयका सुई फाङफाङसहितको टोली मुस्ताङ आइपुगेको हो।

सडकमार्ग हुँदै मुस्ताङ आएको चिनियाँ सुरक्षा अधिकारीको टोली र मुस्ताङका अधिकारीहरूबीच बिहीबार साँझ जिल्ला प्रशासन कार्यालयको सभाहलमा द्विपक्षीय सुरक्षा समन्वय बैठक बसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। त्यसैगरी नेपाल-चीनबीच वर्षेनि सञ्चालन हुने व्यापार मेला कोभिडका कारण ३ वर्षसम्म ठप्प रहेको त्यसलाई पुनः सञ्चालन गर्ने विषयमा समेत छलफल भएको हो। सो छलफलमा लोघेक दामोदरकुण्ड गापका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र लोमान्थाङ गापाका अध्यक्ष टसीनर्बु गुरुङ उपस्थित थिए।

नेपाल-चीन द्विपक्षीय सुरक्षा समन्वय बैठकमा प्रमुख जिल्ला अधिकारी केसीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका सुरक्षा प्रमुखको उपस्थिति थियो।नेपाल-चीन द्विपक्षीय सुरक्षा समन्वय बैठकमा चिनियाँ सुरक्षा अधिकारीले सीमा सुरक्षाका विषयमा नेपाल पक्षसँग जानकारी लिएका छन्। बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमितरूपमा हुँदै आइरहेको दुबैतर्फको गस्तीलाई संयुक्त सुरक्षा गस्तीको रूपमा अघि बढाउन छलफल भएको प्रजिअ केसीले जानकारी दिनुभयो ।उहाँका अनुसार द्विपक्षीय बैठकमा दुई पक्षबीच सूचनाको आदान-प्रदान, समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने सम्बन्धमा बृहत् छलफल भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू