त्रिभुवन अन्तर्राष्टिय विमानस्थल भन्सारबाट बाहिरिएपछि बरामद भएको एक सय किलो सुन प्रत्यक्ष प्रसारण गरेर गालिने भएको छ । स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते साँझ बरामद गरेको हो । सुन ‘ब्रेक शु’ बाट छुट्याएर एकिन गर्दाको दृश्य सर्वसाधरणलाई प्रत्यक्ष प्रसारणमार्फत् देखाइने राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।
सुन लुकाउनका लागि के–केसम्म भयो ? जानकारी दिन गालेको दृश्य प्रत्यक्ष प्रसारण गर्न खोजिएको विभागको भनाई छ । सुन गालेको दृश्य टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्न राजस्व विभागले नेपाल राष्ट्र बैंकको टक्सार विभागसँग समेत छलफल गरिसकेको छ । सुन गाल्ने कार्य प्रधानमन्त्री विदेशबाट फर्किएपछि शुक्रबार मात्रै हुने विभागले जनाएको छ । विभागका अनुसार सुन गाल्न राजस्व अनुसन्धान, भन्सार विभाग, राष्ट्र बैंक आन्तरिक लेखा परीक्षण विभाग, टक्सारकासहित ८ देखि १४ जना अधिकारीको प्रत्यक्ष निगरानी चाहिन्छ ।
‘हङकङबाट तस्कर गरेर ल्याइएको सुन प्रकरणमा बुधबारसम्म राजस्व अनुसन्धान विभागले एक भारतीय र एक चिनियाँ नागरिकसहित १७ जनालाई पक्राउ गरिसकेको छ। सुन प्रकरणमा ३ जना भन्सार विभागका कर्मचारी समेत पक्राउ परेका छन् ।