ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । पक्राउ परेकाहरूलाई आज बुधवार जिल्ला अदालत काठमाण्डाैमा पेस गरिएकाेमा अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।सीआईबीले पक्राउ परेकाहरूसँग अहिले बयान लिने काम जारी राखेको छ । यो घटनामा प्रहरीले एक महिनादेखि अनुसन्धान गरिरहेको छ । किर्ते तथा सङ्गठितरूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वसरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत २२ जना पक्राउ परेका थिए ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारकाे ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । यही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएपछि ब्युरोले पुनः अनुसन्धान थालेको हो ।