अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः डा राणा

बिआरटीनेपाल २०८० साउन ९ गते ७:५५ मा प्रकाशित

नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गर्नुभएको छ । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुनेस्थिति चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो ।

“कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो”, उहाँले भन्नुभयो, “यस प्रकरणमा सयौं टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ। त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो” । राणाले यस्ता मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको धारणा पनि राख्नुभयो ।

नेपाली कांग्रेस र कांग्रेसका नेताहरुले गरेका कामको प्रचारप्रसार नहुँदा जनतामा राम्रो सन्देश नगएको भन्दै डा राणाले मधेस प्रदेश नेतृत्वले सरकार र पार्टीमा रहँदा गरेका राम्रा कामको प्रचारप्रसारका लागि मिडिया रणनीति बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले मधेस प्रदेशमा कुषोषणको स्थिति राष्ट्रिय सूचकाङ्कभन्दा निकै तल रहेकाले त्यसका लागि पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले काम र प्रचारप्रसार दुबै गर्न सुझाव दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू