अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

अपराधमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८० साउन ९ गते ७:४७ मा प्रकाशित

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानूनी दायरामा ल्याएरै छोडिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला, साना जो भए पनि दोषीलाई कानूनी दायरामा ल्याउँछौं ।” तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारवाही पक्रिया अघि बढाइने उहाँको भनाइ थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनुसन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो । “जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन”, मन्त्री श्रेष्ठले भन्नुभयो । भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने गृहमन्त्री श्रेष्ठले बताउनुभयो । आम जनताको जीवनस्तरमा परिवर्तन हुनेगरी सम्बृद्धिको आधार तयार पार्न सरकार प्रतिवद्ध भएर लागेको मन्त्री श्रेष्ठको भनाई थियो । पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू