अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

जी–२० सम्मेलन नेपालका लागि महत्वपूर्ण उपलब्धि : अर्थमन्त्री महत

बिआरटीनेपाल २०८० साउन ३ गते ७:१५ मा प्रकाशित

अर्थमन्त्री डा। प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताउनुभएको छ । सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्किने क्रममा मन्त्री डा.महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भन्नुभयो, “जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमुलक रह्यो ।”मुलतः तीनवटा महत्वपूर्ण विषयमा छलफल भएको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो, जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो । दोस्रो, भारत र चिनियाँ अर्थमन्त्रीहरूसँग महत्वपूर्ण भेटघाट र छलफल भयो । दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भयो । तेस्रो गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धि र महत्वका रूपमा लिनुपर्छ ।”

नेपाल जी–२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रूपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउनुभएको थियो । जी–२० बैठकमा विकसित र अल्प विकसित राष्ट्रहरुको समूह हो, मन्त्री डा। महतले भन्नुभयो, “नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशहरूको समस्या जी–२० को फोरममा राख्ने महत्वपूर्ण अवसर प्राप्त भयो । यस विषयमा सोमबार र मंगलबार लगातार ५–६ वटा विषयमा छलफल भयो ।”

कम विकसित मुलुकले भोग्नु परेको समस्या, जलवायु परिवर्तनको समस्या, डिजिटलाइजेसनले निम्त्यिाएको चुनौती देशको सीमाभित्रै सम्हाल्न सक्ने अवस्थाका बारेमा पनि छलफल भएको उहाँले बताउनुभयो । “डिजिटल ट्रान्जेक्सनमार्फत् जुन आर्थिक गतिविधि हुन्छ, त्यो अरु ठाउँबाट पनि सञ्चालन हुन्छ । त्यो अवस्थामा हामीले कसरी क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय समूहले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल भयो,” मन्त्री महतले भन्नुभयो । जलवायु परिवर्तन जसको कारणबाट हामीले क्षति व्यहोरिरहेका छौँं, यसमा विकसित देशहरूले कसरी सहयोग गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भएको मन्त्री डा. महतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू