अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

कांग्रेस बैठकमा प्रदेश सभापतिहरूको गुनासो

बिआरटीनेपाल २०८० साउन ३ गते ६:५७ मा प्रकाशित

नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिन नहुने धारणा राख्नुभएको छ ।बुधवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सभापति यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुसपैठ हुनसक्ने भन्दै अनलाइन प्रणालीबाट दिन नहुने धारणा राख्नुभएको हो । उहाँले यस विषयमा पुनःविचार गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाँले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै प्रदेशलाई बाइपास नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मधेस भनेको नेपाली कांग्रेसको जननी हो । मधेसबाट नेपाली कांग्रेसको जन्म भएको छ । र जब जब मधेस बलियो भएको छ तब तब नेपाली कांग्रेस सत्तामा गएको छ । यो प्रदेश संरचना किन गठन गरियो ? सात वटा प्रदेशमा संरचना किन बनाइयो ? यदि प्रदेशलाई कुनै जिम्मेवारी दिनु छैन भने, जिम्मेवारीविहीन बनाउनु छ भने यसलाई खारेज गर्दा हुन्छ । हामी जिल्लैमा बस्न तयार छौँ । जिल्लाकै सङ्गठन गर्छाैँ । प्रदेशलाई बाइपास गरेको छ ।’लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले पनि कांग्रेसको सङ्गठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले केन्द्रीय नेताहरूले प्रदेशलाई कमजोर बनाउन लागेको आराेप लगाउनुभयाे ।

बाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको बताउनुभयो । उहाँले सरकार र पार्टीका बीचमा आपसी सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको निर्वाचन प्रणालीदेखि नेपाली कांग्रेसले बोकिरहेको एजेन्डाहरूकाे सम्बन्धमा पनि सोच्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज नयाँ पार्टीहरू सङ्घीयता र भ्रष्टाचारको मुद्दा उठाएर देशमा स्थापित भएका छन् । त्यतातिर हामीले ध्यान दिनुपर्ने हो कि ? देशको निर्वाचन प्रणालीले अस्थिरता बढायो कि ? निर्वाचन प्रणालीले स्थायित्व र गणतन्त्रको संस्थागत विकास, देशको समृद्धितिर कमजोरी भयो कि ?’उहाँले कांग्रेसको कार्ययोजना र साङ्गठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू