अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

अध्यागमन विभागप्रति रुष्ट वैदेशिक रोजगार विभाग

बिआरटीनेपाल २०८० असार ३१ गते ७:५० मा प्रकाशित

आफूले सम्पूर्ण प्रक्रिया पूरा गराई वैदेशिक रोजगारका लागि पठाएका कामदारलाई विमानस्थलबाट अध्यागमन कार्यालय फर्काइदिएपछि दुई सरकारी निकायको विवाद सतहमा आएको छ । वैदेशिक रोजगार विभाग अध्यागमनसंग रुष्ट छ भने मेनपावर व्यवसायीले व्यवसाय नै चौपट हुन लागेको भन्दै अध्यागमन विभाग घेरेर क्षतिपूर्तिको माग गरेका छन् । यद्यपि गल्तीका विषयमा दोष लिन कोही तयार देखिंदैनन् ।

श्रम कार्यालयले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दियो । तर, विदेश उड्न विमानस्थल पुग्दा अध्यागमनले फर्काइदियो । कुबेत हिँडेका १ सय २६ नेपाली कामदार सरकारी निकायबीच समन्वय नहुँदा’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । अध्यागमनका कर्मचारीले उनीहरूको भिसा नक्कली भएको शंका लागेकाले श्रमिकहरुलाइ विदेश जान रोक लगाएको अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसाल बताउनुहुन्छ ।

वैदेशिक रोजगार विभाग भने सवै प्रक्रिया पूरा गरेका वैदेशिक रोजगारीमा हिँडेका नागरिक किन फिर्ता भए भन्ने अध्यागमन विभागले औपचारिक जानकारी नदिएको बताउछ । दुई विभागबीच समन्वय नहुँदा सास्ती नागरिकले पाउन गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदी बताउनुहुन्छ ।अध्यागमनको कार्यशैलीप्रति व्यवसायी रुष्ट छन् । विधि विधानभन्दा पनि सेटिङबाट अध्यागमन चल्ने गरेको आरोप लगाएका उनीहरुले आफ्नो गल्ती पुष्टि गर्न वैदेशिक रोजगार व्यवसायी संघका सचिव कर्ण कट्वालले चुनौति दिनुभएको छ ।

व्यवसायीहरुले विरोध प्रदर्शन क्रममा भिजिट भिसाको सेटिङ्ग बन्द, अध्यागमनमा हुने अनियमितता छानबिन गरी फर्काइएका श्रमिकलाई क्षतिपूर्ति माग गरेका छन् । सरकारी निकायबीच समन्वय अभावमा जनताले सास्ती भोग्नुपरेको यो त उदाहरण मात्र हो । एकातिर रेमिट्यान्सबाट देश चलेकोमा गौरब गर्ने अर्कातिर तिनैमाथि राज्य तहबाट गरिएको यसखाले व्यवहार उचित होइन । जसले जसलाई दोष लगाएपनि कामदारमाथिको त्यो आर्थिक र मानसिक पीडाको क्षतिपूर्ति कसले दिने ?

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू