अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

सन् २०३० सम्ममा एचआईभी/एड्सको नियन्त्रण सम्भव छ : राष्ट्र सङ्घ

बिआरटीनेपाल २०८० असार २९ गते ७:१८ मा प्रकाशित

संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियन्त्रण’ सम्भव रहेको बताएको छ । एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम (यूएनएड्स) ले यस्ताे बताएकाे हाे । तर विज्ञहरुले भने अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक मानिएकाे महामारी एड्स रोक्न सकिने चेतावनी दिएका छन् ।’एड्सलाई सार्वजनिक स्वास्थ्यकाे खतराको रूपमा अन्त्य गर्न सकिन्छ । लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण लगायतका पक्षमार्फत याे महामारी रोक्न सकिन्छ,’ (यूएनएड्स)ले भनेको छ । एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भन्नुभयो, ‘हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौँ, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ भन्ने छ ।’

संयुक्त राष्ट्र सङ्घले सन् २०१५ मा सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रूपमा अन्त्य गर्ने लक्ष्य लिएको थियो । ब्यानिमाले एड्स/एचआईभीकाे अन्त्यका लागि लगानी गरिरहेका देशमा  सबैभन्दा ठूलो प्रगति देखिएकाे बताउनु भएकाे छ । उहाँले पूर्वी र दक्षिणी अफ्रिकालाई उद्धृत गर्दै भन्नुभयो, ‘ती देशमा सन् २०१० यता नयाँ एचआईभी सङ्क्रमण ५७ प्रतिशतले घटेको छ । बोत्सवाना, इस्वातिनी, रूवान्डा, तान्जानिया र जिम्बावेले ९५–९५–९५ प्रतिशतकाे हाराहारीमा लक्ष्य हासिल गरिसकेका छन् । यसको अर्थ एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतलाई आफ्नो अवस्था थाहा छ । एचआईभी भएको थाहा पाएकामध्ये ९५ प्रतिशतले एन्टी–रेट्रोभाइरल उपचार गराइरहेका छन् ।’

कम्तीमा पनि १६ वटा देश यो लक्ष्य हासिल गर्ने उद्देश्य नजिक पुगेका उहाँले बताउनु भयाे । ९५ प्रतिशत लक्ष्य हासिल गर्ने देशमा ६५ प्रतिशत एचआईभी सङ्क्रमित बसोबास गर्ने उप–सहारा अफ्रिकाका आठ वटा देश र डेनमार्क, कुवेत र थाइल्याण्डलगायतका आठ वटा देश रहेका छन् । यूएनएड्सले एक प्रतिवेदनमा भनेको छ, ‘दुई दशकअघि एड्सको महामारी रोक्न नसकिने जस्तो देखिन्थ्यो, हरेक वर्ष २५ लाखभन्दा बढी मानिस एचआईभी सङ्क्रमित हुने र एड्सले वार्षिक २० लाख मानिसको ज्यान लिने गरेको थियो । तर अहिले त्यो तथ्याङ्क नाटकीय रूपमा परिवर्तन भएकाे छ ।’यूएनएड्सका अनुसार सन् २०२२ मा विश्वमा तीन करोड ९० लाख मानिस एचआईभी सङ्क्रमित थिए जसमध्ये दुई करोड ९८ लाखले एन्टी रेट्रोभाइरल थेरापीको प्रयोग गरिरहेका छन् । यो सेवाबाट छुट्नेमा छ लाख ६० हजार बालबालिका रहेका छन् ।

सन् २०१० मा एन्टी–रेट्रोभाइरल उपचार गराइरहेकाकाे सङ्ख्या ७७ लाख रहेकोमा अहिले याे सङ्ख्या चार गुणाले वृद्धि भएको छ । यसबाहेक, एचआईभी सङ्क्रमित ८२ प्रतिशत गर्भवती र स्तनपान गराउने महिलाहरूले सन् २०२२ मा एन्टी–रेट्रोभाइरल उपचारको पहुँच पाएका थिए । यो सङ्ख्या सन् २०१० मा ४६ प्रतिशत थियो ।गएकाे वर्ष करिब १३ लाख मानिस एचआईभी सङ्क्रमित भएका थिए, जुन सन् १९९५ को तुलनामा ५९ प्रतिशतले कम हो । यसैबीच एड्ससँग सम्बन्धित रोगका कारण छ लाख ३० हजार मानिसको ज्यान गएको र मोजाम्बिकलगायतका देशमा यो अझै पनि ‘ ज्यान गुमाउनुकाे पहिराे कारण’ रहेको ब्यानिमाले बताउनुभयो ।

सन् २००४ को तुलनामा एड्सका कारण ज्यान गुमाउनेकाे सङ्ख्यामा ६९ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।  ‘एड्सको अन्त्य एउटा अवसर हो ।  सन् २०२२ मा एचआईभीका लागि दिइने अनुदान २० दशमलव ८ अर्ब डलरमा झरेको छ, जुन सन् २०१३ को जस्तै हो र सन् २०२५ सम्ममा आवश्यक पर्ने २९ दशमलव ३ अर्ब डलरभन्दा निकै कम हो ।’ ब्यानिमाले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू