अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

नेपालमा रासायनिक मल कारखानाको अध्ययन गर्न समझदारी, साढे ९४ अर्ब रुपैयाँ लाग्ने अनुमान

बिआरटीनेपाल २०८० असार २८ गते ७:५० मा प्रकाशित

नेपालमा रासायनिक मलको कारखानाबारे विस्तृत सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डले जर्मनीको एक कम्पनीसँग समझदारी गरेको छ । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मनीको डायग इन्डस्ट्रिजका कार्यकारी निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गर्नुभएको छ ।सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावलीको व्यवस्थाअनुसार २०७८ सालको चैत १७ गते डायग कम्पनीको प्रस्ताव स्वीकृत गरेर अध्ययन अनुमतिपत्र दिने निर्णय भएको थियो । कम्पनीले अनुमतिपत्र प्राप्त गरेको मितिले दुई वर्षभित्र सम्भाव्यता अध्ययनको रिपोर्ट बोर्डमा पेस गर्नुपर्नेछ ।

डायगले उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल युरिया उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी डलर सात सय १४ मिलियन डलर अर्थात् साढे ९४ अर्ब रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान रहेको छ । आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक–निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख रहेको छ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वन र दिगोरूपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेस गर्न प्रस्तावकलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू