अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

सरकारी खाताबाट २१ दिनमा १ खर्ब २५ अर्ब रुपैयाँ भुक्तानी

बिआरटीनेपाल २०८० असार २२ गते ८:१३ मा प्रकाशित

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गएको जेठ मसान्तसम्ममा सरकारको बजेट खर्च ११ खर्ब ७६ अर्ब रुपैयाँ बराबर थियो । असार तेस्रो हप्ता (२१ गते) सम्म आइपुग्दा यस्तो खर्च १३ खर्ब रुपैयाँ नाघेको छ । अर्थात् असारमा मात्रै सरकारले एक खर्ब २५ अर्ब सात करोड रुपैयाँ बजेट भुक्तानी दिएको छ । चालु आर्थिक वर्षका लागि १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याइएकोमा आर्थिक वर्ष सकिन एक हप्तामात्रै बाँकी रहँदा खर्चको आकार १३ खर्ब रुपैयाँमात्रै देखिनु आफैँमा समस्या हो । त्यसमाथि समयमा विकास खर्च गर्न नसक्ने र आर्थिक वर्षको अन्त्यमा हतारमा ठूलो रकम भुक्तानी दिने खराब परिपाटीले यस वर्ष पनि निरन्तरता पाएको छ ।

वर्षान्तको भुक्तानीले विकास निर्माणको गुणस्तरमा सम्झौता हुने र आर्थिक अनुशासनमा गम्भीर उल्लङ्घन भइरहेको विषय महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष औँल्याउँदै आएको छ । वार्षिक विनियोजनको ठूलो अंश असारमा भुक्तानी हुने प्रवृत्तिलाई रोक्नुपर्ने सुझाव पनि महालेखाले आफ्नो प्रतिवेदनमा हरेक वर्ष सरकारलाई दिँदै आएको छ ।महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गर्ने दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार अहिले पुँजीगत खर्च दैनिक एक प्रतिशत विन्दुले बढिरहेको छ । गएको आइतवार असार १७ गते पुँजीगत खर्च वार्षिक लक्ष्यको ४४ दशमलव ३४ प्रतिशत बराबर थियो । बिहीवारसम्म आइपुग्दा उक्त खर्च ४७ दशमलव ४४ प्रतिशत बराबर पुगेको छ । जेठ मसान्तसम्ममा ४० प्रतिशत रहेको पुँजीगत खर्चको भुक्तानी असारमा बढेपछि तीन हप्तामा झन्डै सात प्रतिशत विन्दुले बढेको छ ।

पछिल्ला दिनमा लेखाङ्कन र भुक्तानीसँग सम्बन्धित विद्युतीय प्रणालीमा अत्यधिक चाप देखिन थालेको र यसले समग्र प्रणालीमा नै समस्या देखिएको भन्दै केही जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका( र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) ले गुनासोसमेत गरेका छन् ।  बजेट भुक्तानी माग गरिएका प्रवृष्टि धेरै हुँदा कोलेनिका र प्रलेनिकाका विद्युतीय प्रणालीमा समस्या देखिन थालेको हो । एकै पटक धेरै माग भएपछि भार परेकाले प्रणाली कार्यसम्पादन गर्न नसक्ने अवस्थामा पुगेका छन् । भुक्तानी चाप बढी हुँदा र केही अन्य प्राविधिक कारणले समस्या देखिएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता शम्भुप्रसाद मरासिनीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू