अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

कांग्रेस केन्द्रीय समिति बैठक आव्हान

बिआरटीनेपाल २०८० असार २० गते ६:४३ मा प्रकाशित

नेपाली कांग्रेसले एक वर्षपछि केन्द्रीय समिति बैठक आह्वान गरेको छ। सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरू हुने गरी केन्द्रीय समिति बैठक आव्हान गर्नुभएको हो । बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी गरेका हुन्। कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले असार २७ गते बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्ने जानकारी दिनुभयो।

कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक राखेको थियो। विधानअनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। केन्द्रीय समिति ठूलो भएको र तत्कालै बैठक बस्न असम्भव रहने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णय पनि केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको थियो। कांग्रेसले गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासमेत गरेको थिएन। केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समिति बैठक बोलाउन केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्रसमेत दर्ता गर्नुभएको थियो ।

असार २७ देखि करिब एक सातासम्म केन्द्रीय समिति बैठक चल्ने‍छ। साथै जिल्ला सभापति बैठकलगायत विभिन्न विषयमा पनि आजको बैठकमा नेताहरूबीच छलफल भएको थियो। साधारण र क्रियाशील सदस्यता, विभिन्न तहका सम्मेलनलगायत विभिन्न विषयमा कांग्रेसले बिहीबार जिल्ला सभापतिहरूसँग केन्द्रीय कार्यालय सानेपामा छलफलसमेत गर्दैछ। कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि जिल्लामा फारमसमेत पठाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू