अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

माओवादीका एजेन्डा अरूले खोस्न लागे – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० असार १८ गते ७:३६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको एजेण्डा अरुले खोस्ने जस्तो अवस्था देखा परेको बताउनुभएको छ । अहिले भ्रष्टाचारी नै भ्रष्टाचार विरोधी जस्ता देखा परेको उल्लेख गर्दै उहाँले नयाँ खालका भनिएकाको अवस्था पनि त्यस्तै देखिएको टिप्प्णी गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आज वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले यतिबेला नयाँ तरिकाको क्रान्ति सुरु भएको र यसलाई सफल बनाउन नयाँ तरिकाले जानुको विकल्प नरहेको बताउनुभएको वाइसिएलले जनाएको छ ।

नयाँ तरिकाको क्रान्तिबाटै पार्टी पनि नयाँ आधारमा विस्तार हुने उहाँको भनाइ थियो। सरकारको कामको प्रचारप्रसार गर्न र नकारात्मक कामको आलोचना गर्न प्रधानमन्त्री प्रचण्डले वाइसिएललाई आग्रह गर्नुभयो । सरकार स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत भएको उल्लेख गर्दै उहाँले जनअपेक्षा पूरा गर्ने र भ्रष्टाचारलाई कुनै पनि अर्थमा संरक्षण नगर्ने नीति रहेको प्रष्ट पार्नुभयो ।सरकारको सकारात्मक कामलाई जनतामाझ लैजान र पार्टीलाई विस्तार गर्न, युवालाई थप आकर्षित गर्न प्रधानमन्त्रीले वाइसिएललाई निर्देशन दिनुभयो।सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने उहाको भनाई थियो । उहाँले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिनुभयो।सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबै जसो काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर छाड्ने प्रधानमन्त्रीको प्रतिवद्धता थियो ।

नक्कली शरणार्थी प्रकरणमा जस्तै, बालुवाटार जग्गा प्रकरणमा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पार्दै प्रधानमन्त्रीले विगतमा सबैजसो ठूला काण्डका दोषीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताएको वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सवालमा सरकारले कोही कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै त्यसमा साथ र सहयोग दिन युवा नेतृत्वलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीले आगामी असोज ८ देखि १० गतेसम्म हुन लागेको वाइसिएलको राष्ट्रिय सम्मेलनलाई नयाँ आधारमा संगठन निर्माण र जनतासँग जोडिने गरी तयारी गर्न पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू