अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

एमाले सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरियो, कोशीमा सरकार गठन अन्योल

बिआरटीनेपाल २०८० असार १५ गते ६:२० मा प्रकाशित

मङ्सिर ४ गतेको चुनावपछि बनेको गठबन्धनमा चार वटा प्रदेशको नेतृत्व पाएको नेकपा एमाले सबै प्रदेशाट बाहिरिएको छ । एमालेसहितको सात दलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएसँगै एमाले सङ्घदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएको हो । राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवारलाई मान्न नसक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावअघिकै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बिउँताएपछि एमाले सरकारबाट बाहिरिने क्रम शुरु भएको हो । सङ्घीय सरकारबाट गुमाउन थालेको एमाले आज कोशी प्रदेशमा आइपुग्दा सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिएको हो । एमालेले यसअघि वैशाख ११ गते लुम्बिनी प्रदेश, वैशाख १० गते गण्डकी प्रदेश र माघ २६ गते सुदूरपश्चिम प्रदेशमा सरकार गुमाएको थियो । शुरुवातदेखि नै मधेश प्रदेशमामा जनता समाजवादी पार्टी (जसपा) तथा बाग्मती र कर्णालीमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । यी तीन वटा प्रदेशमा पनि एमालेले मन्त्रीहरू गुमाएको छ ।

यसैबीच मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएपछि कोशी प्रदेशमा नयाँ सरकार गठनबारे अन्योल देखिएको छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको गठबन्धनसँग ४६ मत छ । कांग्रेस, माओवादी केन्द्रसहितका दलहरू रहेको अर्को गठबन्धनसँग ४७ मत छ । तर माओवादीका एक जना सांसद सभामुख रहनुभएकोले उहाँले बराबर मत झरेको अवस्थामा मात्रै मतदान गर्न पाउनुहुनेछ । आवश्यक परे सभामुखलाई राजीनामा गराएर आफ्नो पक्षमा बहुमत पुर्‍याउनेबारेमा पनि गठबन्धनमा छलफल चलेको छ ।

तर एमालेका उपसभामुख उपस्थित नभएमा ज्येष्ठ सदस्यका रूपमा कांग्रेसकै सांसदले सभामुखको भूमिका निभाउनुपर्ने अवस्था आउने जोखिम रहन्छ । दुवै पक्षमा बहुमत नजुटे कोशी प्रदेशसभा मध्यावधि चुनावतर्फ धकेलिन सक्ने सम्भावना पनि रहेको कतिपय जानकारहरू बताउँछन् । तर एमाले नेतृत्वको सरकारमा रहेको राप्रपालाई आफ्नो गठबन्धनमा फर्काउन विपक्षी गठबन्धनका दलहरू प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू