अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

संयुक्त सरकार गठन गर्न पूर्वप्रधानमन्त्री भट्टराईको माग

बिआरटीनेपाल २०८० असार ८ गते ५:४७ मा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसद्‌को बाँकी कार्यकालका लागि संयुक्त सरकार निर्माण गर्न आह्वान गर्नुभएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै उहाँले देशको उतारचढावपूर्ण अवस्था देश र जनताको हितमा नभएको भन्दै संयुक्त सरकारको माग गर्नुभएको हो । भट्टराईले संविधान र कानुनमा सुधार गर्न आग्रह गर्नुभएको छ । आमनिर्वाचनयता नेपालको राजनीतिक दिशा र गति झनझन् उतारचढावपूर्ण भएको र त्यो देश तथा जनताका लागि हितकर नभएको उहाको भनाई छ ।

”गत आमचुनावयताको नेपाली राजनीतिको दिशा र गति झनझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताका निम्ति हितकर छैन । विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्य/अदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण/भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्, उहाँले लेख्नुभएको छ ,’यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसद्‌को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्तिप्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्दा ठीक होला कि ?नत्र समयले कसैलाई नपर्खन सक्छ” ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू