अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

एपीएफलाई हराउँदै फ्रेन्ड्स ‘रेलिगेशन’ मा पर्नबाट जाेगियाे

बिआरटीनेपाल २०८० जेठ २६ गते ७:२८ मा प्रकाशित

सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब याे संस्करणकाे शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ‘रेलिगेशन जाेन’ मा पर्नबाट जाेगिएकाे छ ।आज शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे आफ्नाे अन्तिम खेलमा फ्रेन्ड्सले एपीएफलाई ४–० गाेलले हरायाे । फ्रेन्ड्सका लागि टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले १/१ गोल गरे ।याे जितसँगै रेलिगेशनमा पर्नबाट बचेको फ्रेन्ड्सले २६ खेलमा ३० अङ्क जाेडेकाे छ । फ्रेन्ड्स अङ्क तालिकाकाे ११ औँ स्थानमा छ । एपीएफकाे पनि ३० अङ्क नै रहे पनि हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि १२ औँ स्थानमा छ । एपीएफलाई रेलिगेशनको डर कायमै छ ।

भाेलि शनिवार लिगको अन्तिम खेलमा थ्री स्टारले जावलाखेलसँग खेल्दैछ । त्याे खेलमा थ्री स्टार विजयी भए रेलिगेशनमा पर्नबाट जाेगिनेछ । यदि थ्री स्टारले बराबरी खेले वा हारेमा एपीएफ रेलिगेशनमा पर्नबाट जाेगिनेछ ।यस्तै आजै च्यासल मैदानमा भएकाे खेलमा नेपाल पुलिस क्लबले सातदाेबाटाेलाई १–० गाेलले हरायाे । याे जितसँगै पुलिसले ४१ अङ्कका साथ तेस्राे स्थानमा रहँदै प्रतियाेगिता सकेकाे छ ।

यस्तै एन्फा कम्प्लेक्समा भएकाे खेलमा चर्च ब्वाइज युनाइटेडले एफसी खुमलटारलाई २–० गाेलले हराएकाे छ । चर्च ब्वाइजका लागि सुशील शाह र जोस्पे बेम्पाले १/१ गोल गरे । याे हारसँगै खुलमटार रेलिगेशनमा परेकाे छ । चर्च ब्वाइज भने यसअघि नै च्याम्पियन भइसकेकाे छ । १४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

प्रतिक्रिया