अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

यस वर्षको मनसुनमा सरदर वर्षा कम हुने

बिआरटीनेपाल २०८० जेठ २५ गते ६:२१ मा प्रकाशित

यस वर्षको मनसुनमा सरदर वर्षा कम हुने भएको छ। यस मनसुनमा ९जेठ १८ देखि असोज १३० मा मुलुकभरी नै कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस सिजनमा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ। विभागले बिहीबार विज्ञप्ति जारी गर्दै सरदर वर्षा कम हुने र अधिकतम तापक्रम पनि देशभरी सरदरभन्दा बढी हुने सम्भावना रहेको बताएको हो।यसै विषयमा महिना दिन अगाडि विभागले पहिलो विज्ञप्ति निकालेको थियो। उक्त विज्ञप्तिमा पनि सरदर वर्षा कम हुने र तापक्रम देशैभरी बढी हुने जनाएको थियो। दोस्रो विज्ञप्तिले कम पानी पर्ने र तापक्रम बढी हुने विषयलाई अझै बलियो सम्भावना देखाएको विज्ञहरूको तर्क छ।

यस मनसुनमा अधिकतम भन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत देखिएको विभागले उल्लेख गरेको छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पुर्वी तथा दक्षिणी भूभाग, गण्डकी प्रदेशका पश्चिमी तथा दक्षिणी भूभाग, बागमती प्रदेशका मध्य तथा दक्षिण पश्चिम भूभाग, मधेस प्रदेशका पश्चिमी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको पश्चिमी भूभाग, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग, बागमती प्रदेशका उत्तरी भूभाग र कोशी प्रदेशको अधिकांश भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ रहेको छ। गण्डकी प्रदेशका उत्तर पुर्वी भूभाग र मधेस प्रदेशका पूर्वी भूभागमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।

त्यसैगरी न्यूनतम् तापक्रम पनि धेरैजसो भूभागमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको जनाएको छ। तर कतिपय भूभागको मौसम सरदर नै हुनेछ। सुदूरपश्चिम प्रदेशको मध्य भूभाग, कर्णाली प्रदेशको मध्यपश्चिमी, गण्डकी प्रदेशको मध्य भूभाग, लुम्बिनी प्रदेशको मध्य दक्षिणी भूभाग, बागमती प्रदेशको मध्य पुर्वी भूभाग, मधेस प्रदेशको पश्चिमी तथा मध्य भूभागमा न्यून तर तापक्रम सरदर नै हुनेछ।

यी ठाउँहरूमा न्यूनतम् तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। स्थान विशेष अनुसार सरदर वर्षा र तापक्रमको मापन फरक फरक रहेको छ। सरदर भन्दा कम वर्षाको असर जलस्रोत, उर्जा, सिँचाइ, खानेपानी, कृषि लगायतका क्षेत्रमा देखिने भएकाले पूर्वतयारी अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ। कम वर्षा हुँदा मोटामोटी सबै क्षेत्रमा असर गरे पनि कृषिमा धेरै प्रभाव पर्छ।कृषिमा बीउ लगाउँदा सुक्खा सहने खालको लगाउनुपर्ने हुन्छ। लगाइ सकेको बालीलाई जोगाउन कृषि विशेषज्ञको सुझाव लिने, पानी नभए त्यसको विकल्प खोज्नुपर्ने हुन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू